सांस्कृतिक जीवन र लोक–संगीत
नेपाल प्राकृतिक र सांस्कृतिक दृष्टिले सुन्दर छ । बहुजाति, बहुभाषी र बहुसंस्कृतिको मुलुक हो यो । यहाँ प्रत्येक जातजाति र भाषाभाषीका बहुमूल्य संस्कृति छन् । नेपालका बहुमूल्य, संस्कृतिमध्ये संगीत र नृत्य संस्कृतिले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
जीवन र प्रकृतिबीच पनि सांगीतिक सम्बन्ध रहन्छ । संगीतशास्त्रका अध्येताका अनुसार संसारमा मुख्यगरी तीन प्रकारका संगीत प्रचलित छन् । ती हुन्– शास्त्रीय, आधुनिक र लोक–संगीत । यद्यपि, अचेल अन्य संगीत पनि स्थापित भइ प्रचलनमा छन् । यो लेखमा पंक्तिकारले लोक–संस्कृति र लोकसंगीत विषयमा चर्चा गर्ने जमर्को गरेको छ ।
लोक–साहित्यको इतिहास आकर्षक र लोकप्रिय छ । लोक–साहित्य लोकको अलिखित इतिहास हो । अर्को शब्दमा भन्दा, लोक–साहित्य मानवजीवनको सुख–दुःख, हर्ष, विस्मात्, विजय–पराजय, आसा–निरासा, मिलन विछोड, संवेग आदिको अलिखित इतिहास मान्न सकिन्छ । मानिस चेतनशील प्राणी भएकाले मानिसमा चेतना, समवेदना र संवेग हुन्छन् । मानव समाजको विकासँगै लोक–साहित्यको विकास भइ समाजको एक अभिन्न अंग र सम्पदाका रूपमा परिचित छ ।
लोक–संगीतअन्तर्गत धेरै विषयवस्तु छन्, तीमध्ये लोक–संगीत र लोक–संस्कृतिलाई महत्वपूर्ण अंगका रूपमा लिन सकिन्छ । युगौँदेखि हाम्रो समाजमा परम्परागत रीतिरिवाज, संस्कृति र लोक–संगीतसँगै हुर्किंदैछन् । बालमस्तिष्कमा आमाले ‘नानी लैै, चोचोली’, ‘कोखाई नानी को खाई ?’, ‘चुनु नानी चुनु’जस्ता लोरी र बालगीत गाएर संगीतको विजारोपण गर्नुभयो । त्यसरी नै जो–केहीको पनि मृत्यशय्यामा रहेको अवस्थामा लोकभजन, मन्त्र, स्तुति गाउँदागाउँदै जीवनलीला टुंगिन्छ । प्रत्येक जातिको जन्मदेखि मृत्युसम्म अपनाइनें रीतिरिवाज र संस्कारले कालान्तरमा संस्कृतिको रूप लिएका छन् ।
लोक–साहित्य क्षेत्रमा कलम चलाउने केही अग्रज विद्वान्ले लोक–संगीत र लोक–संस्कृति विषयमा व्यक्त गर्नुभएका केही विचार यस्ता छन्–
(क) ‘लोकगीत लोक–साहित्यको महत्व पूर्ण अंग हो, लोकगीतका भाका र भावले जातीय परम्परालाई चिनाएर राष्ट्रिय एकताको गाँठो कस्ने काममा ठूलो मद्दत पु¥याएको हुन्छ ।’ –प्रदीप रिमाल
(ख) ‘जनसाधारणको गीत वा लोकगीत नै कुनैपनि संगीतपद्धतिको जग हो ।’ –गोपाल योञ्जन
(ग) ‘लोकगीत लोकजीवनले समाजलाई दिएको विशिष्ट उपलब्धि हो । लोक–साहित्य लोकजीवनको अलिखित इतिहास हो ।’ –कृष्णप्रसाद पराजुली
(घ) ‘लोक–साहित्यको माध्यमले ज्ञान, सूचना र सीपको हस्तान्तरण गर्छ र आफ्नो अस्मिता कायम गर्छ ।’ –चुडामणि बन्धु
(ङ) ‘सही अर्थमा लोक–साहित्य लोकजीवन तथा संस्कृतिको प्रतिविम्वमात्र नभएर संवाहक पनि हो ।’ –तुलसी दिवस
(च) ‘संस्कृतिको उत्थानबिना राष्ट्रको सर्वांगीण विकास सम्भव छैन ।’ –नरराज ढकाल
(छ) ‘लोक–साहित्य, लोक–संस्कृतिको एउटा प्रधान अंग हो । लोकजीवनको हासो र आँसुको उद्वेग हो लोक–साहित्य ।’ धर्मराज थापा र हंसपुरे सुवेदी
यी भनाइ अध्ययन, चिन्तन र मनन गर्दा लोक–संगीत लोकको वा समाजको साझा सम्पत्ति हो । परापूर्वकालदेखि हाम्रा पूर्वजले लोकगीत÷संगीत सिर्जना गरी प्रयोग गर्दै आउँदा पुस्ता हस्तान्तरणको माध्यमले हालसम्म विकास हुँदैआएको र संस्कृतिको स्रोत बनेको देखिन्छ । लोक–संगीत र लोक–संस्कृति हामीलाई अड्याउने आधारस्तम्भ मान्न सकिन्छ ।
लोक–साहित्यअन्तर्गतका विधामध्ये सबैभन्दा प्रिय लोक–संगीत हो । लोक–संगीत र लोक–संस्कृतिभित्र अनेकौं विशेषता छन् । ती विशेषता अध्ययन गर्दा विशेषगरी सरलता, मौखिक, मौलिक र स्थानीयतालाई मुख्य विशेषता मान्न सकिन्छ । संस्कृतिका मौलिक विशेषतामा अनेकताभित्रको एकता, धार्मिक सहिष्णुता, साम्प्रदायिक सद्भाव, जातीय सद्भाव आदि पर्छन् । हाम्रा सांस्कृतिक प्रचलनलाई आधार बनाएर गाइएका कयौं लोक–संगीतले समाजलाई रसयुक्त र सरल बनाएका छन् । गीत–संगीत हाम्रो मनका दुःख–सुख, हर्ष–विस्मात् मिलन, विछोड व्यक्त गरी मन हलुका र शान्त पार्ने सशक्त, प्रभावकारी माध्यम हुन् । आफ्ना मनभरि गुम्सिएका पिर–व्यथा, मनको बह फुकाउनुपरे एकान्तमा एक्लै हुँदा पनि गीत, भजन, सुसेला गुन्गुनाइन्छ ।
समावेशी समाजको सद्भावपूर्ण वातावरणमा हुर्किएका हामी नेपाली सर्जकका लागि लोक–संगीत, लोक–संस्कृतिको संकलन, लेखन, गायनजस्ता क्रियाकलापमा सहभागी हुनु र यिनलाई बचाउनु महत्वपूर्ण कार्य हो । लोक–संगीत नेपाली जनजीवनको यथार्थ चित्रण गर्ने माध्यम हुन् । लोक–संगीतलाई समाजको प्रतिविम्व, सामाजिक परिवेश र वातावरणको उपज मानिन्छ । लोक–संगीतमा मानिसका रहन–सहन, आचार– विचार, वेशभूषा, खानपान, बोली–व्यवहार आदिको सजीव चित्रण गरिएको हुन्छ । समाजमा चलेका राम्रा वा नराम्रा प्रचलनलाई समुदायसमक्ष पु¥याउने काम लोक–संगीतले गर्छ ।
नेपालमा जति जाति र भाषा छन्, त्यति नै संस्कृति छन्, जति संस्कृति छन्, त्यति नै गीत–संगीत छन् । संस्कृतिे व्यापक अवधारणा हो भने लोक–संगीत संस्कृतिको मेरुदण्ड हो । लोक–संगीतअन्तर्गत लोकगीत र लोकदोहोरी वा लोकजुहारी मुख्य छन् । नेपाली लोकगीत र दोहोरी÷जुहारी गीत नेपाली माटोमा उब्जिएर, बढेर, यहीँ झांगिएका सम्पत्ति हुन् । यी गीत नेपालीपनमा आफ्नै मान्यता र भाकामा अडिएका छन् ।
हाम्रा दैनिक जीवनका भोगाइ, काम–काज, व्यवहार, रीतिरिवाज र संस्कृतिसँग जोडिएका छन् । नेपालको पूर्वी क्षेत्रबाट जुहारी र पश्चिमबाट दोहोरी गीतको प्रारम्भ भएपनि अचेल दोहोरी गीत सबै क्षेत्रमा लोकप्रिय छन् । हाम्रा लोक तथा दोहोरी गीत उकाली–ओराली, चौतारी, भञ्ज्याङ, मेलापर्व, उत्सव, घाँस–दाउरा, परेली–पर्म आदिमा गुञ्जिन्छन् । हाम्रा दोहोरी गीत त संसारकै लागि अनुपम कलाका नमुना हुन् ।
क्षणभरमा सवालको जबाफ सिर्जना गरी उत्तर दिनसक्ने क्षमता र कला नेपाली कलाकारमा मात्र पाइएको छ । यस्तो विशिष्ट क्षमता देखिएकाले विदेशी कलाकार पनि दोहोरी÷जुहारी गीतप्रति आकर्षित भइ अध्ययन, अनुसन्धान र गायनमा लागेका उदाहरण पाइन्छन् ।
हिमालका सुन्दर दृष्य, तराईका फाँटमा बयेली खेलेका बाली, पहाडका हरियाली डाँडापाखा, वन चौर, नदी–नाला, छाँगा–छहरा देख्दा हाम्रो मानसपटलमा एक ‘तरंग’ उत्पन्न हुन्छ । त्यही तरंग प्रस्फुटन भइ मूर्तरूप लिएर गीत बन्छ । हाम्रा धेरै प्रकारका लोक, दोहोरी गीत, लोक–संस्कृति र लोक चलन मौखिक रूपमै विकास भइ समाजमा छरिएका छन् । यस्ता साझा लोक–सम्पत्ति एकसाथ हुर्काउन र संरक्षण गर्नसक्नु नेपालीको सामाजिक विशेषता हो । लोकगीत तथा दोहोरी÷ जुहारी गीत जीवनका विशिष्ट अभिव्यक्ति पनि हुन् । लोक दोहोरी÷जुहारी गीत संवाद शैलीमा गाइने विधा हुन् । यस्ता गीतले सामाजिक सम्बन्धलाई आकार दिन्छ, वैयक्तिक सम्बन्ध स्थापना गर्छ । सामाजिक सद्भाव बढाउँछ र संस्कृति संरक्षण गर्छः ।
नेपालको भौगोलिक र सांस्कृतिक विविधता, विविध भाषाभाषी, विविध जनजातिको अनुपम समिश्रणले हाम्रा गीत–संगीत र संस्कृति समृद्ध बनाएका छन् । हाम्रा विभिन्न चाडपर्वमा प्रस्तुत हुने लोक–संस्कृति र परम्पराले हाम्रो सामाजिक सद्भाव अझ बलियो बनाउँदैलगेको छ । हाम्रा कतिपय लोक–संगीत र लोक–संस्कृतिलाई पनि समयानुकूल परिमार्जित गर्दै जीवन्त बनाउन सक्नुपर्छ । यद्यपि, यदाकदा केही गीत र संस्कृतिमा उत्ताउला प्रवृत्ति देखिएपनि त्यस्ता गीत तथा संस्कृतिका विकृति चाँडै हराउँदैगएका र समाज–स्रोताले अस्वीकार गरेको पाइन्छ ।
लोक–संगीत र लोक–संस्कृतिसँग नाता गाँसिएका हाम्रा चाडपर्वमा दसैं, तिहार, तीज, छट, उँधौली, उँभौली, चासोक तङनाम, ल्होसार, माघी पर्व, माघे, साउने संक्रान्ति, नयाँवर्ष, रामनवमी, कृष्णजन्माष्टमी, बुद्धजयन्ती, बसन्तपञ्चमी, आमा–बुबाको मुख हेर्ने दिन, असार १५, साउन १५, इन्द्रजात्रा, गाईजात्रा, रोपाइँजात्रा, होली आदि हुन् । तराईमा बसोबास गर्ने विभिन्न जाति अन्तर्गत मैथिली, भोजपुरी र थारू भाषाभाषीको संस्कृति र गीत–संगीत बढी चर्चामा देखिन्छ ।
यिनै चाडपर्व र यिनैैसँग गाँसिएका गीत–संगीत, सांस्कृतिक क्रियाकलापले पौराणिक, धार्मिक र सांस्कृतिक पक्षलाई संरक्षण गर्दैआएका छन् । पूर्वका हाक्पारे, लैबरी, जुहारी, पालम, केलाङ, साकेला सिली, सेलो, सेबु्र, हुर्रा, पश्चिमका देउडा, रोइला, कौडा, सालैजो, टप्पा, चुड्का, सोरठी आदि तथा तराईका सन्थाल, धिमाल, किसान, राजवंशी, थारू जातिका आ–आफ्ना संस्कृतिले सामाजिक विविधताभित्र एकताको सन्देश दिइरहेका छन् ।
‘संगीत मनोरञ्जन र आमोद–प्रमोदको साधनमात्र नभई जीवनको अपरिहार्य आधार बनेको छ । नेपाली लोक–संगीतमा नेपाली संस्कृतिको अनन्त प्राण लुकेको छ । लोक तथा दोहोरी÷जुहारी गीतमा मुटुका अमूर्त भाव पोखिन्छन् । लोक–संगीतले लोक–परम्पराका रूपमा राष्ट्रका मर्म र पीडालाई सहज रूपमा समेट्दै देशको अस्थिर राजनीतिक अवस्था, जनताको भविष्यप्रति सचेत गराउने काम पनि गीतको माध्यमबाट यसरी व्यक्त गर्न सकिन्छ ः
‘आज मादल बजेको किन, गाउँघर दुनियाँ ब्युँझाउन’ – धर्मराज थापा
...........
‘देशमा धेरै फेरिए व्यवस्था, फेरिएनन् जन्ताका अवस्था
प्रजातन्त्र समाजवाद भएमा, देश बन्छ लोकतन्त्र रहेमा
भ्रष्टाचार देशबाट हटाउने, समावेसी समाजलाई अटाउने’
...........
‘सपुत चाहियो हिमशिखरको चुचुरो नै ताक्ने
एउटा सन्तान जन्माउँ आमा देश हाँक्नसक्ने’
– लेखकका गीतबाट
कतिपय जुहारी गीतका गेडा र रोइला गीतका तुक्का हाम्रो मन छुने हुन्छन् । माया–पिरतीका गीत गाउँदा पनि शिष्ट र सभ्य भाषा प्रयोग गर्दा कलाकारको मर्यादा बच्ने, लोक–संस्कृति पनि बाँच्ने छ ।
‘आज त मैले प्रसाद खाएँ नारायण् पूजाको
यो गीत मैले गाएको होइन, दुःखी मन बुझाको’
...........
‘इलामै बजार चियाबारी राम्रो, बीचैमा चौतारी
‘तिमी र हामी जुहारी खेलौं, मिलेको दौंतरी’
...........
‘असार पन्ध्र दही र चिउरा, साउनमा खाने खिर
सुख र दुःख जीवनमा आउँछ केलाई मान्नु पिर
मायालु खाँटी, आउँ चुरेघाँटी, लाउँ माया रसैको
पवित्र मनले हासखेल, गर्दा, डर हुन्न कसैको’
पूर्वी क्षेत्रमा पनि रोइला गीतका नमुना यसरी लिन सकिन्छ ः
‘के को चिन्ता तिमीलाई
तिम्रै घरमा आउँला
रोइला गीत गाउँला’
...........
‘घर छ मूलबाटोमा
आउँदा–जाँदा पसे है
गुन्द्री तानी बसे है’
...........
‘पारी वनपालैमा
चिलाउनेमा चिल बस्यो
माया तिम्मा दिल बस्यो’
...........
‘हाम्रो माली गाईलाई
दुईटा दाम्ला चाहिँदैन
त्यसो भन्न पाइँदैन’
...........
‘माथि–माथि लेकैमा
चौंरीगाईको चरन
मनले विचार गर न’
...........
‘आयो रोपाइँजात्रा
गीत गाउने नचाउने
संस्कृतिलाई बचाउने’
नेपालीपन र नेपाली मन मिलाएर दोहोरी गीतका गेडा पस्किँदा, लोक–संगीत र लोक–संस्कृति बचाउने सन्देश यसरी दिन सकिन्छ ः
‘चिनाउनु छ कलाकार र देशको कला कीर्ति
पु¥याउनु छ विश्वभरि, हाम्रो लोक–संस्कृति’
–रेशमबहादुर न्यौपाने
‘लोकभाका जननी हुन् राखौं शीरमाथि
यसैले त गर्मिलो छ आज हाम्रो छाती
नधमिल्याउँ चोखो हाम्रो संगीतको मूल
दुःख्छ मन चुड्नुहुन्न, सम्पदाको फूल’
–हरिदेवी कोइराला
जन्मदिने आमा–बुबाभन्दा प्यारो अरू को हुन सक्छ र ! अझ आमाले पकाएर दिएको त ढिडो–रोटो भएपनि अमृत बराबर हुन्छ भन्ने सन्देश यो गीतमा पाइन्छ ः ः
‘जिन्दगीको पहिलो अन्न तिम्रो हातको लिटो
आमा तिम्ले पकाएको लिटो पनि मीठो’
–रमेश बिजी
पूर्वी नेपालका जुहारी तथा लैबरी गीतले गरिबीको यथार्थ चित्रण गर्दै समाजमा तनाव सिर्जना गर्ने व्यक्तिलाई झगडा नगर्न सल्लाह दिएर यस्तो सन्देश दिन्छन् ः
‘धनीले खान्छन् मसिना चामल, गरिबलाई बगडा
एकदिन त सबै मरेर जाने के गर्नु झगडा’
नेपाली पोसाक दौरा–सुरुवाल र साडी–चोली लगाउने पुरुष–महिलालाई होच्याउने र नेपाली गीत गाउँदा बोली बटार्ने कलाकारलाई गीतबाट यसरी सल्लाह दिन सकिन्छ ः
‘राष्ट्रिय पोसाक नर्बिसौं हामी दौरा र चोलीलाई
मौलिक गान बिगार्नु हुन्न नभुलौं बोलीलाई’
लोक–संगीतको सागरबाट यो क्षेत्रमा लाग्नुभएका अग्रज महानुभाव र साथी एवं आफूले संकलन गरेका केही उल्लिखित गीत केवल उदाहरणका लागि प्रस्तुत गरिएका छन् ।
कुनैपनि देशको भाषा, साहित्य, संगीत, संस्कृति त्यस देशको पहिचानका माध्यम र अमूल्य सम्पत्ति हुन् । जीवनका भोगाइबाट प्राप्त गरेका भाव र अनुभूतिलाई कलात्मक ढंगले प्रस्तुत गरिने लयात्मक अभिव्यक्ति नै गीत हो । हाम्रा लोक–संगीतअन्तर्गत कयौं भाका र भावका लोकगीत, दोहोरी÷ जुहारी गीत प्रचलनमा छन् । हाम्रा कर्मगीत कृषि पेसाअन्तर्गत हरेक क्रियाकलापसँग नजिक छन् । चाडपर्व, धर्म, संस्कृतिसँग सम्बन्धित गीत–संगीतको आ–आफ्नै भूमिका र महत्व छ । राष्ट्रको समुन्नति भन्नु भौतिक विकासमात्र नभइ साहित्य कला, संगीत र संस्कृतिको विकासले मात्र पूर्ण हुन्छ भन्ने तर्क निर्विवाद छ ।
गीत गायनका कुनैपनि परम्परालाई लोक–संस्कृतिसँग जोड्दै महत्व दिइन्छ । संस्कृतिसँग सबै गीतको सम्बन्ध कतै न कतै परेकै हुन्छ । नेपाली जनजीवनको ढुकढुकी मानिएको लोक–संगीत र लोक–संस्कृतिलाई बचाउनेमात्र होइन, यिनको पुनर्जागरण गर्न अपरिहार्य छ । नेपाली लोक–संगीत, संस्कृतिको संरक्षण र विकासमा राज्यले नै अहम भूमिका निर्वाह गर्नुपर्छ ।
यसो भन्दैमा साहित्य कला र संस्कृतिसँग सम्बन्धित संघ–संस्थाले सरकारको मुख ताकेरमात्र बस्नैपर्छ भन्ने होइन । हाम्रो समाजमा राजनीतिक र आर्थिक चहलपहलको तुलनामा भाषा, साहित्य, कला र संस्कृति क्षेत्रको जागरणमा झिनो चहलपहल देखिन्छ । हामी अहिले परम्परादेखि प्रचलनमा आएका संस्कृतिका सकारात्मक पक्षलाई पनि छोड्दै र बिर्सिंदैआएका छौं । त्यसैले आ–आफ्नो भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिका असल र सकारात्मक पक्षलाई प्रोत्साहन, निरन्तरता दिँदै हाम्रा ज्ञानसिप, अनुभव अनुजहरूलाई हस्तान्तरण गर्दैजानु हाम्रो साझा कर्तव्य हो ।
सन्दर्भ सामग्री ः
१. पराजुली कृष्णप्रसाद– ‘नेपाली लोकगीतको आलोक’ ः– पहिलो संस्करण २०५७
२. बन्धु चूडामणि – ‘लोक–साहित्यको परिचय’ ः– पहिलो संस्करण २०५८
३. तिवारी शोभा– ‘लोक–संगीतार्पण’ः– पहिलो संस्करण २०६०
४. धर्मराज थापा र हसंपुरे सुवेदी ः– ‘नेपली लोक–साहित्यको विवेचना’ –प्रथम सस्करण २०४१
पत्रपत्रिका
१. मधुपर्क– लोक–साहित्य विशेशाङ्क – २०६३ भदौ
२ स्मारिका – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान – २०७३–०७६ (छैटौं र सातांै) ।


 (1)2025-08-28-16-16-59.jpg)
प्रतिकृया दिनुहोस