इलामको पर्यटनमा सुमदाय, सरकार र सञ्चार
प्राकृतिक सौन्दर्य, जैविक विविधता, हरियाली चियाबारी, धार्मिक, सांस्कृतिक क्षेत्र, सिमसार, नदीखोला, चराचुरुङ्गी, वन्यजन्तु इलाममा पर्यटक आकर्षण गर्ने माध्यम हुन् । सहरको कोलाहल, आधुनिक संरचना र व्यस्त दिनचर्या केही दिनका लागि छोडेर इलाम आउने आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दो छ । १० वर्षअघिसम्म पर्यटक चहलपहल नभएका पर्यटकीयस्थलमा अहिले बाक्लै पर्यटक आइपुग्दा इलामको अर्थतन्त्र विकासमा योगदान पुगेको छ । दैनिक सयौं पर्यटकलाई इलामका ग्रामीण क्षेत्रमा घुम्ने वातावरण बनाउन सञ्चार जगतको योगदान अविस्मरणीय नै छ ।
इलामको अन्तु, कन्याम, पाथीभरा, सन्दकपुर, माईपोखरी, जौबारी, पानीटार, टोड्के झरना, छिन्टापु, ढापपोखरीलगायत दर्जनौं पर्यटकीयस्थलको प्रवद्र्धनमा इलामे पत्रकारले स्वतस्फुर्त कलम चलाएका छन् । अहिले सामाजिक सञ्जाल प्रयोगकर्ता बढेपनि हरेक नागरिकले पर्यटकीयस्थलको प्रचारप्रसारमा सहयोग पुगेकै छ । तर, तथ्यपरक सामग्री प्रकाशन र प्रसारणमा पत्रकारको भूमिका अग्रणी छ ।
इमेल–इन्टरनेटको पहुँच र सामाजिक सञ्जाल प्रयोग नहुँदा इलामबाट प्रकाशित हुने पत्रिका, इलाममा बसेर राष्ट्रिय र क्षेत्रीयस्तरका सञ्चारमाध्यमा समाचार सामग्री सम्प्रेषण गर्ने पत्रकारले इलामको प्रचार नेपालमा मात्रै होइन, विदेशमा पनि गरेका छन् । पत्रिका, रेडियो र टेलिभिजनमा पर्यटकीयस्थलका सामग्री प्रकासन, प्रसारणले इलामका पर्यटकीयस्थलमा हजारौँ पर्यटक भ्रमण गर्ने अवस्था आउनु सञ्चार जगतको योगदान रहेकामा कसैले नकार्न सक्दैन । समुदायको सक्रियतामा पर्यटन गतिविधि भएका पर्यटकीयस्थल पत्रकारको खोज, अनुसन्धान, समाचारमूलक सामग्री निरन्तर प्रसारण र प्रकासनले पर्यटकको घुमफिर गन्तव्य भएका छन् ।
इलामको अन्तु समुदायको सक्रियता र सञ्चार जगतको अनवरत प्रचारप्रसारले अहिले हजारौँ पर्यटकको गन्तव्य भएको छ । अन्तुडाँडाबाट देखिने सूर्योदयको दृश्य, हरियाली चियाबारी, लेप्चा जातिको संस्कृति, रहनसहनलाई आधार मानी समुदायले सुरु गरेको अन्तु महोत्सवमा इलामका सञ्चारकर्मीले हरेक दिनका गतिविधि र महत्वबारे प्रचारप्रसार गर्ने काम अहिले ताजै छ । अन्तु पर्यटन विकास केन्द्रमा आबद्ध अन्तु–समालबुङबासीले आफू बस्ने घरको कोठा छुट्याएर, आफंैले उत्पादन गरेको खानाका परिकार खुवाएर पाहुनालाई गरेको स्वागत, सत्कारमा सञ्चारकर्मीले आफ्नो स्रोत र साधनले भ्याएसम्म प्रचारप्रसार गरेका थिए । सुमदायको अभियानमा सञ्चार जगत जोडिँदा २०६० बाट २०७० सालसम्म आइपुग्दा अन्तुमा अहिले सिजनमा १५ हजारसम्म पर्यटक पुग्छन्, करोडौँ लगानी भित्रिएको छ, सयौंले रोजगारी पाएका छन् । सुमदायको अभियान र सञ्चारकर्मीको प्रचारले गर्दा राज्यले पनि अन्तु क्षेत्रमा पूर्वाधारको लगानी गरेको छ । सुमदाय र सञ्चार जगतको सक्रियताले पर्यटकीय हब भएको अर्को गन्तव्य हो, कन्याम । डाँडाकाँडामा रोपिएको चियाबारीको बीचबाट तराईबाट पहाड हुँदै हिमाली जिल्ला ताप्लेजुङ जोड्ने मेची राजमार्गले चिरेको कन्यामको चहलपहल ६० को दशकसम्म थिएन । चिया मुनाबाट चिया उत्पादनमात्रै होइन, बगानको हरियाली र चिसो हावा बेच्न सकिने समुदायका आवाज बुलन्द गर्ने काम सञ्चार जगतले गरेको थियो ।
पत्रकारले समुदायको आवाजलाई र आफ्नो खोज–अनुसन्धानमार्फत् चिया पर्यटनको अवधारणा नै ल्याए । चिया पर्यटनबारे निरन्तर कमल चलाएपछि सिंगो सञ्चार जगतमात्रै होइन, पर्यटनबारे जानकारको ध्यान कन्याममा केन्द्रित भयो । कन्यामको पर्यटन प्रवद्र्धनका लागि चिया पर्यटनको सम्भावनाका बारेमा इलामका मात्रै होइन, कामविषेशले पूर्वी नेपाल आउने पत्रकारको कलम निरन्तर चल्यो । फलस्वरूप, अहिले कन्याममा हजारौं पर्यटक आएर रमाउँछन् ।
कन्याम, अन्तु, ढापपोखरीलगायत थुप्रै इलामका पर्यटकीयस्थल प्रवद्र्धनमा पत्रकाले कलममात्रै चलाएका छैनन्, भौतिक रूपमा उपस्थित भएर जनश्रमदान नै गरेका छन् । सन्दकपुर ५, जमुनामा रहेको ढापपोखरीमा निर्माणमा भौतिक उपस्थित भएर पत्रकार पर्यटन प्रवद्र्धनमा सहयोग गरेको पाइन्छ ।
इलामका पर्यटकीयस्थल
गाउँ नै गाउँले भरिएको इलाममा ग्रामीण क्षेत्रमा नै धेरै पर्यटकीयस्थल छन् । राज्यको पुनर्संरचनापछि १० स्थानीय तहमा विभाजन भएको इलामका ग्रामीण क्षेत्रमा रहेका पर्यटकीयस्थल भौतिक सुविधा नपुगेपनि आन्तरिक र बाह्य पर्यटक पुग्नेक्रम बढेको छ । समुन्द्र सतहबाट ३६ सय ३६ मिटरको उचाईसम्म फैलिएको इलामको सन्दकपुर कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य हो ।
सन्दकपुर गाउँपालिकाभित्रका सन्दकपुर, जौबारी, माईपोखरी, छिन्टापु, टोड्के झरना, ढापपोखरी, माबुथाम, हाँगेथाम, माबुथाम मुख्य गन्तव्य हुन् । लेकाली जीवनशैलीमा रमाउन सकिने माईजोगमाई गाउँपालिकामा मेघमा, टङ्लु, तुम्लिङ, आहालभञ्ज्याङ, थुम्केरानी प्रमुख गन्तव्य हुन् ।
कोशी प्रदेशको पर्यटकीय नगरी सूर्योदयमा कन्याम, अन्तु, गुफापाताल, चित्रे गुम्बा मुख्य गन्तव्य हुन् । रोङ गाउँपालिकाका पाथीभरा मन्दिर, करसोङ पदमार्ग, सलकपुरमा ग्रामीण पर्यटन प्रवद्र्धन भएको छ । इलाम सदरमुकाम रहेको इलाम नगरपालिकामा नेपाली चियाको इतिहास बोकेको इलाम चिया बगान, भालुढुङ्गा, नेपालको इतिहास बोकेको निसान राखिएको माईस्थान, भालुढुङ्गा पाटेनागी पर्यटकीय गन्तव्य छन् ।
देउमाई नगरपालिकाभित्र पानीटार, कुइभिर, फाकफोकथुम गाउँपालिकामा साहित्यकार सन्त ज्ञानदिलदासको जन्मभूमि पर्यटक तान्ने माध्यम हुन् । माङ्सेबुङ्ग गाउँपालिकामा गजुरमुखी, माङ्मालुङ्ग डाँडा, किरात धार्मिकस्थल लारुम्बामा हजारौँ पर्यटक पुग्छन् । माई नगरपालिकामा मैनाचुली, सहिदभूमि सुखानी क्षेत्र पर्यटक आकर्षित गर्ने क्षेत्र हुन् । चुलाचुली गाउँपालिकामा रहेको अन्धाराजा अन्धारानी पर्यटक आकर्षण गर्ने गन्तव्य हो ।
अन्धाराजादेखि सन्दकपुरसम्म सबै पर्यटकीयस्थलमा कच्ची सडकले जोडिएपनि पक्की पुगेको छैन । तैपनि, पर्यटकको आकर्षण बढ्दो छ । सबै पर्यटकीय गन्तव्य ग्रामीण क्षेत्रमा रहेकाले आधुनिक होटल र रेस्टुरेन्ट खोल्न लगानीकर्ता आकर्षित हुँदैनन् । त्यसैले अहिले ग्रामीण क्षेत्रमा पुग्ने पर्यटकलाई समुदायले आफ्नो घरमा परिवारको सदस्यसहर राखेर स्वागत–सत्कार गर्दैआएका छन् । समुदायको यो सक्रियतालाई सरकारी निकायले घरबास तालिम र पर्यटनमैत्री योजना कार्यान्वय गर्दैआएको छ । समुदायको अगुवाईमा हुने गतिविधिले ग्रामीण क्षेत्रमा उत्पादन भएको कृषिउपज गाउँमै खपत गर्न र स्वरोजगारका अवसर सिर्जना हुने भएकाले बसाइँसराइ घट्नुका साथै देशको अर्थतन्त्र विकासमा सहयोग पुग्नेछ ।
पर्यटनमा समुदाय
पर्यटक लोभ्याउने गन्तव्य गाउँमा छन् । ग्रामीण रहनसहन र जीवनशैलीमा रमाउन पर्यटक गाउँमा आकर्षित हुनथालेका छन् । गाउँमा कच्ची सडक, विद्युत्, खानेपानी विस्तार भएका छन् । सरकारी सुविधा विस्तार भएका छन् तर पर्याप्त छैन । जसले, बसाइँसराइ रोक्न चुनौती छ ।
बसाइँसराइ रोक्न नसक्नुको मुख्य कारण बेरोजगारी नै हो । पहाडी भू–भागमा व्यावसायिक कृषिउपज उत्पादनका लागि पर्याप्त भू–भाग पुग्दैन र उत्पादन भएपनि बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन । त्यसैले समुदायको आर्थिक अवस्था सुधारका लागि किसानको कृषिउपज किसानकै घरमा पुगेर पर्यटकले खाने र आराम गर्ने वातावरण बनाउन ग्रामीण समुदायलाई बढीभन्दा बढी पर्यटन प्रवद्र्धनमा सहभागिता गराउनुपर्छ ।
समुदायको सुझावमा आएका योजना कार्यान्वयन तीनै तहका सरकारले गर्न आवश्यक छ । समुदाय एक भएर पर्यटन प्रवद्र्धनका काम गरेको कन्याम, अन्तु, गुफापाताल अहिले ग्रामीण पर्यटनको हब बनेको छ । र, समुदायले पनि आफ्नो गाउँको विकासका लागि सरकारी योजना र बजेटको धेरै अपेक्षाभन्दा पनि आवश्यकताका आधारमा माग गरेका छन् । जसले, पर्यटनका माध्यमबाट गाउँमा आर्थिक विकास भएको छ ।
नेपालीको आयवृद्धि हुँदैगएको र छिमेकी देश भारतको ठूलो जनसंख्या नयाँ–नयाँ पर्यटकीय गन्तव्य पुग्ने योजनाले इलामबासीले ठूलो लाभ लिनसक्ने अवस्था छ । भारतको पश्चिमबंगालका तीन प्रतिशतमात्रै जनसंख्यालाई इलाममा व्यवस्थापन गर्नसक्ने समुदाय तयार छन् । समुदायको सक्रियतालाई सरकारले पर्यटनका आधारभूत माग पूरा गरेमा समुदाय आफैं अघि बढ्छ र राज्यलाई कर तिर्न आइपुग्ने अवस्था छ ।
नीतिगत तहमा मात्रै नभएर स्थानीय तहले गठन गरेका टोल विकास संस्थामार्फत पर्यटन प्रवद्र्धनका काम गर्नुपर्छ र समुदाय सक्रियतासाथ सहभागी हुनुपर्छ । स्थानीय तहले पालिकाभित्रका पर्यटन क्यालेन्डर विकास गरी हरेक महिना गतिविधि गरेमा पर्यटन संस्कृति विकास हुँदैजान्छ । जसले, पर्यटनबाट आशा जगाउने र प्रदेश, संघ सरकारसँग समन्वय गर्न समुदाय आफंै अघि सर्छ । समुदायले राजनीतिक गतिविधिलाई चुनावका बेलामात्रै गर्न आवश्यक छ । बहुदलीय व्यवस्थामा सबैको अस्थाको सम्मान गर्दै सामूहिक रूपमा पर्यटन विकासमा लागेर आफ्नो उत्पादनका परिकार गाउँमै पर्यटक ल्याएर खुवाउनसके समृद्धि टाढा छैन ।
समुदायले आफ्नो टोल, वडा र पालिका क्षेत्रका पर्यटकीयस्थलका फोटा, प्रचार सामग्री नियमित सामाजिक सञ्जालमा राख्नेगरेमा पर्यटक आकर्षित गर्ने वातावरण हुन्छ । यो नै समुदायको सफलता हो । जुन, नेपालका धेरै पर्यटकीय गन्तव्यका समुदायले सफलतामा पुग्न सकिन्छ भन्ने उदाहरण दिइसकेका छन् । गाउँका उत्पादनमा आधारित परिकारमा रमाउन चाहने नेपाली र विदेशी पर्यटकको संख्या बढ्दो छ । पर्यटकले आफ्नो घरवरिपरिको भन्दा नयाँपन, नयाँ परिवेश र नयाँ परिकारमा रमाउन पाउँदाको आनन्द अविस्मरणीय राख्छन् । प्रचार पनि त्यहीअनुसार नै राम्रो हुन्छ । समुदायका सदस्यले आफ्नो घर जति नै नराम्रो भएपनि सफा राख्ने र मुस्कानसहितको सेवा पर्यटकलाई दिन सक्नुपर्छ । जसले गर्दा, पर्यटक दोहो¥याएर आउन सकून् ।
सफासफाइ, क्षमताअनुसारको सेवा–सुविधा, सञ्चार, सुरक्षाको प्रत्याभूति, समन्वय, सहकार्य र समुदाय आफ्नो संस्थागत विकासमा लागेमा पर्यटकको संख्या निश्चित बढ्छ र इलाम समृद्ध हुन्छ ।
सञ्चारको भूमिका
पर्यटकीय क्षेत्रमा पर्यटक तान्न प्रचारप्रसारको महत्वपूर्ण भूमिका हुन्छ । सञ्चार क्षेत्र र पत्रकारले इलामको पर्यटनको विकासमा गरेको अतुलनीय योगदान सुरुमै उल्लेख गरिएको छ । इलामका अग्रजले गरेको सेवामुखी पत्रकारितालाई हामीले पनि पछ्याएका छौँ । पर्यटन क्षेत्रको विकास भएमा पत्रकारिता क्षेत्रको पनि विकासमा सहयोग पुग्छ ।
पर्यटन विकासले समग्र इलामबासीकै आर्थिक विकास सहयोग पुग्ने देखिन्छ । इलामको पर्यटन विकासमा सञ्चार जगतले निर्वाह गर्नुपर्ने केही भूमिका छन् । हुन त, अहिले घुम्न पुग्ने पर्यटकले सामाजिक सञ्जालमा आफू पुगेको पर्यटकीयस्थलको प्रचार गर्न छोटो सामग्री बनाउने गरेका छन् । तर, हामी पत्रकारको चाहिँ पर्यटकीय क्षेत्रमा पर्यटक पुग्ने वातावरण बनाउनुपर्ने कठिन भूमिका छ । हामीले चलाएका सञ्चारमाध्यममा पर्यटन क्षेत्रबारे नियमित रूपमा खोजमूलक सामग्री प्रकासन र प्रसारण गर्नुपर्ने हुन्छ । खोजमूलक सामग्री प्रकासन र प्रसारणका लागि स्थानीय तहसँग सहकार्य गर्न सकिन्छ ।
नियमित रूपमा पर्यटकीयस्थलका बारेमा सामग्री प्रकासन, स्थानीय उत्पादनको परिकार, हावापानी र विशेषता प्रकासन गरेमा पर्यटकले गन्तव्य छनोटमा ध्यान दिन्छन् । पर्यटन भनेको निरन्तरको हल्ला पनि हो । हामीले निरन्तर प्रचार सामग्री प्रकासन गरेमा नयाँ गन्तव्य खोजिरहेका पर्यटकका लागि सजिलो पनि हुन्छ ।
पर्यटक नयाँ गन्तव्य भ्रमण गर्दा त्यहाँको उत्पादन खपत हुने भएकाले स्वरोजगार हुनेक्रम बढ्छ । हामी अन्तुको पर्यटन विकासका लागि जसरी एक भएर प्रचारप्रसारमा लागिप¥यौं, त्यसले अन्ततः सफलता पाएको छ । कन्याम क्षेत्रको प्रचारप्रसारका कामले पनि सफलता पाएको छ । हामी सोच्न सक्छौं, हामीले गरेको प्रचाप्रसारको कामले हाम्रो हातमा के प¥यो त ? तर, हामीले गरेको योगदानले स्थानीय तहमा राजस्वको अंक वृद्धि भएको छ । सञ्चार क्षेत्र राज्यको चौथो अंग भएपनि सेवामूलक क्षेत्र हो ।
दिनभर एउटा समाचार तयार गरेवापत् हामीले ज्यामीसरह श्रम नपाउन सकिन्छ । तर, हामीले लेखिएको सामग्रीले समग्र जिल्लाको अर्थतन्त्रमा ठूलो सहयोग पुग्नेछ र पुगिरहेको छ । त्यसैले हामीले हरेक दिन पर्यटकीयस्थल, त्यहाँको उत्पादन, रहनसहन, संस्कृति, हावापानी, वन्यजन्तु, चराचुरुङ्गीका बारेमा समाचारमूलक वा प्रचार सामग्री बनाएमा इलामको अर्थतन्त्र विकासमा ठूलो सहयोग पुग्नेछ । पत्रिकामा पर्यटनबारे कोलम छुट्याएर पर्यटनमैत्री सामग्री प्रकासन गरौं । रेडियोमा प्रसारण गरौं र अनलाइनमा निरन्तर अपलोड गरौं । जसले, हाम्रो हातमा केही नपरेपनि राज्यको हातमा कर संकलन हुन्छ र अर्थतन्त्र विकासमा सहयोग पुग्छ ।
स्थानीय तहको भूमिका
स्थानीय तह जनताको घर–आँगनको सरकार हो । घर–आँगनको सरकारलाई संविधानले असीमित अधिकार दिएको छ । अधिकार प्रयोग गर्दै स्थानीय तहले थुप्रै उपलब्धि हासिल गरेको पाइन्छ । पर्यटकीय जिल्ला इलामका स्थानीय तहले आफ्नो आम्दानीको मुख्य स्रोत कृषि, पशुपालन र पर्यटनबाट हुने अठोट लिएका छन् ।
पर्यटन व्यवसाय वृद्धिले कृषि र पशुपालन व्यवसाय स्वभाविक रूपमा फस्टाउँछ । इलामका ग्रामीण क्षेत्रमा पर्यटकको संख्या वृद्धि भएमा गाउँमा कृषि र पशुजन्य उत्पादनको उपभोग बढ्ने निश्चित छ । त्यसैले अब स्थानीय तहले पर्यटन गुरुयोजना बनाइ शैक्षिक पात्रोसरह पर्यटन पात्रो निर्माण गर्नु आवश्यक छ ।
इलामका १० वटै स्थानीय तहमा पर्यटक आकर्षित गर्ने गन्तव्य छन् । ती गन्तव्यमा कुन मिति र तिथिमा घुमन्तेहरू आकर्षित गर्न सकिन्छ वा चहलपहल गराउन सकिन्छ, त्यही आधारमा स्थानीय तहले पर्यटकीय गतिविधि बढाउने कार्यक्रम सुरु गर्नुपर्छ । पर्यटनको सम्भावना अधिक छ तर पछाडि परेको छ भने त्यसलाई पाँचदेखि १० वर्षसम्म निरन्तर पर्यटन पात्रो बनाइ हरेक वर्ष कार्यक्रम गर्नुपर्छ । जसले, चर्चा बढ्ने, पर्यटकले त्यो ठाउँ घुम्न जाने योजना अगाडि नै बनाउन सकोस् ।
स्थानीय तहले माथिल्ला दुई तहका सरकारको ध्यान केन्द्रित गर्न पनि पर्यटकीयस्थलमा पर्यटनमैत्री कार्यक्रम गर्नुपर्छ । जसले, पूर्वाधार विकासमा उनीहरूको ध्यान जान्छ । पूर्वाधार विकास पनि वातावरणमैत्री बनाउनुपर्छ । हाम्रो देशमा तेस्रो देशका नागरिक आधुनिक सहरबाट वाक्क भएर प्राकृतिक सौन्दर्यमा रमाउन आउँछन् । त्यसैले प्रकृतिको कम क्षतिमा पूर्वाधार निर्माण गर्न स्थानीय तह लाग्नुपर्छ ।
पर्यटनको अधिक सम्भावना भएका पर्यटकीय गन्तव्यलाई स्थानीय तहको पर्यटन पात्रोले प्राथमिकतामा राख्नुपर्छ । पर्यटन पात्रोमा राखिएपछि स्थानीय सरकारले पर्यटन प्रवद्र्धनमा उत्प्रेरणा दिने काम गर्छ । स्थानीय तह अघि बढेका रोजगारीका अवसर र आफ्नो उत्पादन गाउँमै खपत हुनेमा स्थानीय विश्वस्त हुन्छन् । यो स्थानीय तहको दायित्व हो । जसले, पर्यटनको माध्यमबाट आर्थिक वृद्धिको गोरेटो दिन्छ । इलामको अन्तु पर्यटकीय क्षेत्र त्यसैको उदाहरण पनि हो ।
पर्यटकीय गन्तव्य धेरै भएका र पर्यटनको अधिक सम्भावना भएका पर्यटकीयस्थलमा फरक–फरक सिजनमा प्रवद्र्धन गतिविधि गर्न स्थानीय तहको पर्यटन पात्रोले सहयोग गर्छ । जसले, आफ्नो पालिकाभित्रकै पर्यटकीय क्षेत्र पुग्ने वातावरण पालिकाबासीमा हुन्छ र प्रचारप्रसारमा सहयोग पुन्छ । पर्यटन भनेको हल्ला वा प्रचार हो, हामीले राम्रोसँग प्रचार ग¥यौं भने भ्रमणमा आउने पर्यटकका लागि नै हाम्रो उत्पादन खपत हुन्छ र आम्दानी बढ्छ ।
स्थानीय तहले निरन्तर पर्यटनमैत्री गतिविधि गरेसँगै प्रदेश र संघीय सरकारसँग समन्वय गरी पूर्वाधार निर्माणमा जोड दिनुपर्छ । पूर्वाधार एकै वर्षमा नहुने भएकाले समुदायलाई पर्यटन क्षेत्रमा डो¥याउन निरन्तर अघि बढ्नुपर्छ ।
अन्त्यमा,
समुदायको व्यवस्थापन, स्थानीय तहको समन्वय र सञ्चार जगतको प्रचारप्रसारले इलामको पर्यटन विकासमा टेवा पुग्छ । १० स्थानीय तह, समुदाय र सञ्चार क्षेत्र एक भएर प्रचारप्रसार गरेमा हामी पर्यटन विकासमार्फत् अर्थतन्त्र विकासको लयमा पुग्छौं । जसले, इलामको मात्रै नभएर हाम्रो प्रदेश र देश विकासमा योगदान दिन सक्छौँ ।
प्रचार गर्न नछोडौं, आफ्नो मन तोडौं तर सबै इलामेको मन पर्यटन प्रवद्र्धनबाट जोडौं र सुखी इलामबासी–समृद्ध इलाम बनाउन सबै लागौं ।


प्रतिकृया दिनुहोस