पत्रकारलाई प्रश्न: सच्चिने कि सकिने ?
पत्रकारिताको तागतका अघि विश्वविजेता भन्ने वादशाहहरूले पनि घुँडा टेकेको इतिहास छ । एडमन्ड वर्कले प्रेसलाई चौथो अङ्गका रूपमा अथ्र्याएपछि पत्रकारितालाई चौथो अंग मान्न थालियो । नेपोलियन बोनापार्टले चार विरोधी पत्रिकालाई चार हजार सेनाभन्दा डरलाग्दो हुने घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपति थोमस जेफर्सनले भनेका थिए, ‘मलाई सरकार र पत्रिकामध्ये एउटा छान्न भनिए म बिनाहिच्किचाहट भन्छु– सरकार नभए केही हुन्न, समाचार पत्रिका जीवित रहनुपर्छ ।’
प्रसिद्ध वैज्ञानिक थोमस अल्बा एडिसनले पत्रकारको महत्वलाई दर्शाउँदै भनेका थिए, ‘पत्रकारिताजस्तो रोचक, रसिलो र व्यापक केही छैन । दैनिक हजारौँ मानिससम्म पुग्नु, उनीहरूलाई अरूको विचार भन्नु, सल्लाह दिनु र शिक्षा प्रदान गर्नु निकै अद्भूत कार्य हो । मलाई आफू पत्रकार नभएकामा दुःख लागेको छ ।’ बेलायतका पूर्वप्रधानमन्त्री विस्टन चर्चिलले पत्रकारितालाई कहिल्यै नसुत्ने र जनताको स्वतन्त्रताको रक्षा गर्ने अभिभावकका रूपमा परिभाषित गरेका थिए ।
तर, यस्तो महत्वपूर्ण पेसामा रहेर अरूलाई प्रश्न गर्ने हामी पत्रकारमाथि नै यतिबेला प्रश्न बर्सिन थालेको छ । यसका पछाडि धेरै कारण हुनसक्छन् । पत्रकारिताको स्तर खस्कँदो छ । कतै विश्वसनीयता गुम्दैछ भने कहीं पेसागत मर्यादा स्खलित छ । व्यावसायिकता हराउँदैछ । नागरिकको रुचि र आवश्यकता ध्यान दिन नसक्दा तथा प्रविधिको विकासले नागरिक सुसूचित हुन सञ्चार माध्यममाथिको निर्भरता घटेकोमात्र छैन, नागरिक एक कदम अघि भइसकेका छन् । मूलधारको पत्रकारिता भुत्ते भइरहेको छ । पत्रकारिताका पाठक, स्रोता र दर्शक अहिले सामाजिक सञ्जाल र युट्युबतिर छन् । यसो किन भइरहेको छ ? अरूलाई प्रश्न गर्दैआएका हामी आफूले आफैंलाई पनि प्रश्न गर्ने बेला आएको छ ।
जेरेमी प्याक्सम्यानले भनेका छन्, ‘पत्रकार अप्ठ्यारो समूहका सदस्य हुन् । उनीहरू माया गरिन वा प्रसिद्ध हुन कहीँ गएका होइनन् तर कसैले उत्तर दिन नचाहेको विषयमा प्रश्न सोध्न गएका हुन् । यसबाट पनि पत्रकारको जिम्मेवारी प्रश्न गर्ने र कसैले लुकाउन खोजेको तथ्य बाहिर ल्याउने प्रमुख भूमिकामा चित्रित गरिएको छ । तर, यो भूमिकाबाट पत्रकार विमुख बन्दै गएको आभास हुन्छ ।
पत्रकारिता चौतर्फी चुनौतीको घेराबन्दीमा परेको छ । बाह्य र आन्तरिक कारण थुप्रै छन् । तर, यहाँ पत्रकारका आफ्नै आचार र व्यवहारका कारण उत्पन्न चुनौतीको चर्चा गर्ने प्रयास गरिएको छ । कति पेसागत त कति व्यक्तिगत प्रवृत्तिका प्रसङ्ग यहाँ उठान हुनेछन्, जुन पत्रकारले र पत्रकार संलग्न भएरै गरिएका छन् । पत्रकारकै कारण पत्रकारितामा चुनौती आएको यथार्थ नकार्न मिल्दैन । जोसेफ पुलित्जरले न्युयोर्क वल्र्डमार्फत् पहिलोपटक अभ्यास गरेको पीत पत्रकारिता (एल्लो जर्नालिज्म) अहिले पत्रकारिताको अभिन्न अंगजस्तो बनिसकेको छ । समाचारलाई बंग्याउने, आफूअनुकूल प्रस्तुत गर्ने, बढाइचढाइ गर्ने, सानोतिनो कुरामा पनि सनसनी मच्चाउने, हावादारी चरित्रको पीत पत्रकारिताले वास्तविक पत्रकारिताको मर्मलाई समाप्त पारिरहेको छ । मनगढन्ते समाचार लेखेकै कारण विश्वविख्यात पत्रकारहरू जेनेट कुक, जेसन ब्लायर, फरिद राफिक र ब्रायन विलियम्सको पतन भएको तथ्य स्मरण गर्न जरुरी छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा पीत पत्रकारिता बढ्दैगएको बताउँदै भनेका छन्, ‘पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ । जे–जे कारणले भएपनि तिनीहरू प्रभावित छन् । अझ भन्ने हो भने बिक्रीमा छन् पत्रकारहरू’ (३ चैत २०७९) । हुन त उनको यो भनाइ निकै विवादमा प¥यो । संसद्मा प्रश्न नै उठ्यो कि सबै पत्रकार खराब छैनन्, पीत पत्रकारिता गर्ने को–को हो नाम भन्नु प¥यो भन्ने माग सांसदले गरे । सभामुख घिमिरेले थप प्रस्ट्याउँदै भनेका थिए, ‘थर्काएर, किनेर, फकाएर बिग हाउसले वातावरण प्रभावित पार्ने कोसिस गरिरहेका छन्, पत्रकार त्यसबाट मुक्त हुनुपर्छ ।’
नेता वामदेव गौतमले ‘समय–समयमा पेसाको मर्यादा र भावना कुल्चिएर गरिने पत्रकारिता (पीत पत्रकारिता) बाट मै पनि शिकार हुँदैआएको छु’ भनेका छन् ।
हालका प्रधानमन्त्री केपी शर्मा ओली २०७७ मा पनि प्रधानमन्त्री नै थिए । त्यस वर्षको माघ ८ मा उनले भनेका थिए, ‘देशको ठूलो समस्या पीत पत्रकारिता हो ।’ प्रवृतिगत दृष्टिले प्रश्न गम्भीर छ । यसबारे बहस नभएका पनि होइनन् । गलतलाई गलत नै भन्नुपर्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी स्थानीय नेतृ बिर्तामोड निवासी रञ्जु प्याकुरेलले पार्टीकारिता गर्नेहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा प्रश्न गरेकी छिन्, पत्रकार पार्टीको कार्यकर्ता हुन्छ । जुन पार्टीको पत्रकार हो, त्यसको समाचार त्यो पार्टीमा आस्था राख्नेले विश्वास गरिहाल्छन् । सत्य नै भएपनि अर्को पार्टीकाले गलत बुझ्छन् । समाचारलाई विश्वसनीय बनाउने हो भने सबैभन्दा पहिला पत्रकार र दलबीचको सम्बन्धको गाँठो फुस्काउनुप¥यो । विशुद्ध पत्रकार र विशुद्ध पत्रकारिता भए सही समाचार सूचनाको प्रभावकारिता हुन्थ्यो कि ? यो प्रतिनिधि प्रश्नमात्र हो । यो प्रश्न अब आम रूपमै उठ्न थालेको छ । हाम्रा सञ्चारमाध्यम राजनीतिक रंगबाट मुक्त छैनन् । पत्रकार कुनै न कुनै पार्टीका छाता ओढेका छन् । यो बेलामा पत्रकारिताको मर्म र धर्म संकटमा परेको छ ।
दलको छाता ओढ्दामात्र आफूलाई सुरक्षित ठान्ने पेसागत मर्यादाबाट च्युत भएका पत्रकार पहिलो दोषी त हुन नै । प्रश्न यो पनि छ, आफूअनुकूलका, आफ्ना स्तुति र विपक्षका आलोचना अझ खेदो गरिएकामात्र सामग्री सञ्चारमाध्यममा आओस् भन्ने चाहना राख्ने, त्यस्तै गर्न प्रेरित गर्ने, आफ्नो नराम्रो कसैले थाहा नपाओस् तर अरूको नभएको पनि नराम्रै लेखियोस् भन्ने चाहना राख्ने सरकारका प्रतिनिधि र राजनीतिक दलका नेतृत्व पनि पीत पत्रकारिताका लागि दोषी हुन् कि !
पत्रकारिताको क्षेत्र जति व्यापक छ, यसमाथिका प्रश्न पनि व्यापक हुनु स्वभाविक हो । समग्र पत्रकारिता अझ राजधानीतिरका समस्या धेरै होलान्, यहाँ राजधानीबाहिरका केही प्रवृत्ति केलाउने प्रयत्न गरिएको छ । पत्रकारहरू आग्रह–पूर्वाग्रह, कतै दबाब त कतै प्रभावमा परेका उदाहरण छन् । एक पत्रकार एक सञ्चारमाध्यम जस्तै भइसकेको छ । यही प्रसंगलाई कटाक्ष गर्दै झापा सुरुङ्गामा सामाजिक अभियानकर्मी युवक कमल कट्टेलले भनेका छन्, ‘खै कसरी चिन्नु एक घर एक पत्रकार, एक पत्रकार एक अनलाइन । को हो असली बाजेको पेडा ? स्रोता र पाठकलाई हैरानी ।’
श्रमजीवी स्वरोजगारमुखी बन्न खोजेका छन् तर व्यावसायिक हुन नसकी पत्रकारिता कतिपयको मागिखाने माध्यम र भाँडो भएको छ । विज्ञापन समाचार बन्न थालेका छन् । विज्ञापनदाता पनि ५०औं हजार खर्चेर प्रचार गर्नुभन्दा पाँच–१० पत्रकार बोलाएर पाँच–सात हजार खर्चमै समाचार लेखाउन अभ्यस्त भइसकेका छन् । दिइरहननपर्ने समाचारले सञ्चारमाध्यम भरिएका छन् । दिनैपर्ने सूचना–समाचार बेपत्ता छन्, बनाइएका छन् । सीमित स्रोतमाथिको परनिर्भरताले पनि समस्या ल्याएको छ । धेरै मिडियामा प्रहरीले जे दियो वा जे पठायो, त्यहीमात्र समाचार बन्ने गरेका छन् ।
पत्रकारितामा आग्रह र पूर्वाग्रह मौलाएको छ । बार्गेनिङको खेती फस्टाएको छ । यस्तो विषयमा पर्दाफास गर्दैछु भनेर फेसबुकलगायत सामाजिक सञ्जालमा स्टाटस लेख्ने, टेलिफोनबाट धम्क्याउने तर स्वार्थ मिल्यो भने त्यो विषय गुपचुप हुने अवस्था÷प्रवृत्ति देखिँदैआएको छ । आयोजकले औपचारिक कार्यक्रममा बोलाउँदा भत्ता, तेल खर्च, खाजा खर्च खोज्ने प्रवृत्ति सामान्य बनिसकेको छ । अझ भनौं, पत्रकारितामा खाम प्रवृत्ति मौलाएको छ । पत्रकारिता लेनदेनमा बदलिएको छ ।
कतिपय पत्रकार समाचार छापेर पैसा असुल्ने धन्दामा तल्लिन देखिन्छन् । खासगरी वडा र पालिकामा यस्तो काम भइरहेको पाइन्छ । जनप्रतिनिधिले आफूअनुकूलका समाचार पैसा दिएरै लेख्न लाउने गरेका कयौं दृष्टान्त छन् । पत्रकार पनि पार्टी, मन्त्री, सांसद, स्थानीय जनप्रतिनिधिको झोले बन्न तँछाड–मछाड गरिरहेका छन् । कुनै विषयमा पार्टीलाई तथा पार्टीका नेतालाई त्यति टाउकोदुखाइ नहुनसक्छ । तर, पत्रकारहरू पक्ष–विपक्षमा सामाजिक सञ्जालमा सतहमा नै उत्रिने गरेका धेरै उदाहरण छन् । मानौं कि सरकार, पार्टी, नेता उनीहरूले नै चलाइरहेका छन् । समाचारका स्रोत तथा प्रहरी–प्रशासनसँगको अनुचित सम्बन्ध र लेनदेनका विषयले पनि हाम्रो पत्रकारिता स्खलित हुँदैछ । अझ कति पत्रकारले खोज–अनुसन्धान गरेर विकृतिविरुद्ध तथ्यपरक उठान गरेका विषयमा त्यहाँ नाम मुछिएका विकृतिका कारक पात्रलाई साथ दिएर उचाल्ने, धम्क्याउन लगाउने र पत्रकारको तेजोबध गर्दै असल पत्रकारिता गर्नेलाई हतोत्साही बनाउने कार्यमा कतिपय पत्रकारकै भूमिका हुनेगरेको छ ।
कसैले फेसबुकमा लेखेको स्टाटस, सामाजिक सञ्जालमा आएका फोटा र घटना विवरणलाई नै अन्तिम स्रोत मानेर समाचार सम्प्रेषण गर्दा पत्रकारिताको धज्जी उडेको छ । कपी–पेस्ट पत्रकारिता मौलाएको छ । कयौं पत्रकार दैनिक त के, हप्तौंसम्म एउटासम्म समाचार लेख्दैनन् । उनीहरूको दिनचर्या औपचारिक कार्यक्रमका निम्तो मान्दै, नबोलाएका ठाउँमा पनि जाँदै, बोलाएकाभन्दा बढी संख्यामा जाँदै, त्यहाँ खाजा खाँदै र भत्ता लिँदैमा बितेको देखिन्छ । कतिले कार्यक्रममा बोलाउने ठेक्का लिएर मन परेका र आफूनिकटका मात्र बोलाएर सिन्डिकेट चलाउने पनि गरेका छन् । जसले बेपर्वाह त्यस्तो दिनचर्या गरिरहेको छ, उसले आफ्नो र परिवारलाई पनि प्रगतिशून्य बनाइरहेको छ । सिर्जनशीलता छैन, अध्ययन छैन । खोज गर्ने इच्छाशक्ति र क्षमता छैन । सिप र क्षमता बढाउन जाँगर चल्दैन । कपी–पेस्ट पत्रकारिता अर्को चुनौती भएको छ ।
कार्यक्रममा कैयौं पत्रकार पुग्ने तर समाचार एक–दुई जनाले मात्र लेख्ने अनि तिनै समाचार ‘कपी–पेस्ट’ गर्ने अर्को समस्या छ । एउटा पत्रकारले खोजेर ल्याएको समाचार, फोटो वा एउटा सञ्चारमाध्यममा प्रकाशित सामग्री बिनाअनुमति, स्रोत पनि उल्लेख नगरी आफैंले खोजेकोझैं गरी प्रकासन–प्रसारण गर्दा पनि समस्या आउने गरेको छ । एउटा पत्रकारले आफूलाई मन नपरेको, आफूसँग विचार नमिल्ने सञ्चारमाध्यम र पत्रकारलाई विभिन्न आक्षेप लगाएर चरित्रहत्या गर्नेगरी सामाजिक सञ्जालमा लेख्ने र आत्मरति लिने प्रवृत्तिले पनि पत्रकार र पत्रकारिताप्रति प्रश्न उठेका छन् । अझ स्थानीय सञ्चारमाध्यमको अर्को समस्या के छ भने विज्ञापनदाताले एउटालाई विज्ञापन दिएको हुन्छ, त्यो देखेर अरूले नसोधी प्रकासन–प्रसारण गरिदिने, सोध्दा पनि उसलाई दिने हामीलाई किन नदिने ? त्यो चाहिँ को हो दिनैपर्ने ? हामीलाई पनि दिनुभएन भने तपाइँलाईं ठेगान लगाउन जानेका छौं भन्नेजस्ता धम्की दिएर विज्ञापन नै बन्द गर्नुपर्ने अवस्था स्वरोजगारमुखी पत्रकारबाटै सिर्जना भएका घटना छन् ।
पत्रकार महिलाको सुरक्षाका विषयले पनि प्रश्न उठ्ने गरेको छ । पत्रकार महिला र मिडियामा काम गर्ने महिला कर्मचारी पत्रकार पुरुषबाट यौन हिंसाको शिकार भएका थुप्रै घटना बाहिर आएका छन् । कति यस्ता घटना बाहिर आउन सकेका छैनन् । यस्ता विषयले पनि पत्रकारप्रतिको सामाजिक प्रतिष्ठा गिरेको छ ।
कति पत्रकार विभिन्न पार्टीनिकट पत्रकार संगठनको पद धारण गर्ने र नेतागिरी गर्दै हिँड्ने, कति पत्रकारिताको आडमा पार्टीको पनि ठेकेदारी चलाउने पनि छन् । पत्रकारले के गर्न हुन्छ के हुँदैन ? पत्रकारिता के हो, के होइन ? सामान्य कुरासम्म ख्याल नगर्ने तर जे छ, त्यसमै रमाउने छन् । त्यसरी रमाउनेबाटै पत्रकारितामा चुनौती खडा भएको छ । पत्रकारमाथि प्रश्न तेर्सिएको छ । लाभ र अनुचित लाभलाई केन्द्रमा राखेर पत्रकारितालाई स्वार्थपूर्ति गर्ने माध्यम बनाउनेबाट हाम्रो पत्रकारिता संकटमा पर्दैगएको छ ।
अर्कोतर्फ, राणा शासनका बेला स्तुतिबाट सुरु भएको हाम्रो पत्रकारिता गणतन्त्रमा पनि स्तुतितर्फ नै ढल्किँदैछ । यस्तै हो भने हिजो र आजमा के फरक होला ? पत्रकारले प्रश्न गर्न छोडेका छन् । प्रश्न कमजोर भएका छन् । आफ्नो मूलकर्म पत्रकारले प्रश्न छाडे भने न पत्रकार रहन्छन्, न पत्रकारिता । त्यसैले सच्चिने कि सकिने ? आफूले आफैंलाई प्रश्न गरेर अघि बढ्ने बेला आएको छ । सबै पत्रकार कमसल र खराब छैनन् । थोरै भएपनि यस्तो विकृति, प्रवृत्तिले सिङ्गो पत्रकारिता क्षेत्रलाई प्रदूषित बनाएको छ । सबै पत्रकारमाथि प्रश्न तेर्सिएको छ ।
राज्यका सबै अङ्ग र निकायमाथि मिडियाले निगरानी गर्छ, प्रश्न गर्छ । मिडिया आफैँमा ‘पावरफुल’ एजेन्सी हो । शक्ति र सत्तामाथि निगरानी गर्ने तथा ‘वाचडग’को भूमिकामा रहने स्वयम् मिडियाको भूमिकामाथि बहसको थालनी किन नगर्ने ? राज्यका अन्य निकायझैँ मिडियालाई पनि जनउत्तरदायी किन नबनाउने ? ‘मिस इन्फरमेसन’ र ‘डिस इन्फरमेसन’ले पत्रकारिताको गति नकारात्मकतातर्फ अघि बढेको आभास हुन्छ । नराम्रो खबर छिटो पैmलिन्छ । प्रसिद्ध उक्ति नै छ, ब्याड न्युज ट्राभल फास्ट । भ्युज बढाउने नाममा होस् या सूचना स्रोतको परीक्षण र समाचारको प्रमाणीकरण नगरी दिइने समाचारले पत्रकारितामाथिको विश्वसनीयता स्खलित भएको छ ।
अहिले संसारभर मिथ्या समाचार (फेक न्युज) टाउकोदुखाइको विषय बनिरहेको छ । सूचनाको वास्तविकता, प्रामाणिकता एवम् पवित्रता र पत्रकारको साहसबाट मात्र पत्रकारिता जिउँदो रहन सक्छ । गलत सूचना वा जानकारीका माध्यमबाट समाजमा अफवाह फैलाएर उथलपुथल ल्याउने जंक न्युजको विकृति बढ्दैछ । ब्रेकिङका नाममा स्रोतको आधिकारिकताबिना दिइने गलत सूचनाले भ्रम फैलाउने काम गरेको छ ।
म्यागासेसे पुरस्कार विजेता पत्रकार रवीस कुमार भन्छन्, ‘सूचना जति पवित्र र प्रामाणिक हुन्छ, नागरिकबीच भरोसा त्यति नै गहिरो हुन्छ । देश सही सूचनाले बन्छ । फेक न्युज र प्रोपोगन्डा जहिले पनि भिडमात्र बन्छ ।’
पत्रकारिताप्रति विश्वसनीयता बढाउनु नै अहिलेको मूल काम हो । । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रमा धेरै प्रश्न उठ्नेगरेको स्वीकार्दै पत्रकारितामाथि विश्वसनीयताको खोजी गरिरहेको बताएका छन् । ‘एउटा पत्रकारले प्रश्न स्वीकार्न सक्दैन भने उसको नैतिक अधिकार हुँदैन कि, उसले पनि कसैलाई प्रश्न गरोस् । त्यसकारण, आफूप्रतिको प्रश्न स्वीकार्ने र करेक्सन हुने कुरामा हामी सबैभन्दा बढी लाग्यौँ भने त्यतिबेलामात्रै हामीलाई त्यो अधिकार हुन्छ कि, हामीले अरूको बारेमा प्रश्न उठाउँछौँ,’ पोख्रेलले भनेका छन्, ‘अहिले पत्रकारिता क्षेत्रमा प्रसस्त प्रश्न उठेका छन्, त्यसलाई सम्बोधन गर्न एउटामात्रै डिमान्ड छ, तिमीहरूको कन्टेन्ट विश्वसनीय होस् भन्नेमात्रै जबाफ खोजेको छ । हामीले विश्वसनीयता दिने सम्बन्धमा काम गर्नुपर्नेछ ।’
पत्रकारिताको मर्यादा र गरिमा बढाउँदै व्यावसायिक पत्रकारिताको अभ्यासमा अघि बढ्न सच्चिनुको विकल्प छैन । पत्रकारितालाई विकृत हुनबाट रोक्न स्वयम् पत्रकारकै भूमिका अहम् हुन्छ । हाम्रो आफ्नै आचारसंहिता छ । तर, यसको धज्जी उडाइएको छ । पटक–पटक उल्लंघन भएको छ । आचारसंहितामा व्यवस्था भएका तर पटक–पटक उल्लंघन भइरहने केही विषय यहाँ उल्लेख गर्नु सान्दर्भिक ठानेको छु । केही अनलाइन सञ्चारमाध्यमले सामग्री सम्पे्रेषण गर्दा पहिले नै राखिएको जस्तो देखाउने गरी पुरानो मिति र समय उल्लेख गर्न र एकपटक प्रकाशित सामग्री प्रकाशन पश्चात् हटाउने गरेका छन्, यो गर्न हुँदैन । तर, असावधानीवश पोस्ट हुन गएका गम्भीर क्षति पु¥याउनेखालका सामग्री हटाउँदा त्यस्तो सामग्रीको प्रकृति खुलाइ क्षमायाचना गर्नुपर्छ । प्रकाशित सामग्रीमा प्राप्त हुने असान्दर्भिक, अमर्यादित, अश्लील टिप्पणी वा सामग्रीलाई स्थान दिनुहुँदैन । सम्प्रेषण भएका टिप्पणी वा प्रतिक्रियाको जिम्मेवारी सम्बन्धित सञ्चारमाध्यमले लिनुपर्छ ।
प्रशासनिक तथा सुरक्षा क्षेत्रका उपल्लो तहका अधिकृत हुन् या भिआइपी, भिभिआइपीसँग कुम जोडेर फोटो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट्याउँदै फूर्ति देखाउने पत्रकार पनि कम छैनन् । अनुचित दबाब र सम्बन्ध पत्रकारितामा अर्को समस्या बनेको छ । पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि सामग्री संकलन वा सम्प्रेषण गर्दा अनुचित प्रभाव पार्न खोज्ने विज्ञापनदाता, प्रायोजक, समाचारका स्रोत, व्यक्ति वा समूह कसैको पनि प्रत्यक्ष वा परोक्ष दबाब वा प्रलोभनमा पर्ने प्रवृत्ति छ । तर, त्यो गलत हो । त्यस्तै, समाचार स्रोतसँग पेसागत मर्यादाविपरीत सम्बन्ध राख्न एवम् व्यक्ति वा संस्थाको निहीत स्वार्थपूर्तिका लागि सञ्चारमाध्यमको दुरुपयोग भइरहेको छ, त्यो गर्न हुँदैन । अझ कतिपय ठाउँमा पत्रकारलाई मात्र बोलाइएको हुन्छ, त्यहाँ पत्रकारसँगको सम्बन्धका कारण पत्रकारकै भेषमा प्रहरीका सुराकीसमेत सामेल हुनेक्रम बढेको छ ।
पेसागत मर्यादाविपरीत उपहार तथा पुरस्कार ग्रहण अर्को विकृति बनेको छ । पत्रकार तथा सञ्चारमाध्यमले पेसागत मर्यादा तथा दायित्वमा प्रतिकूल प्रभाव पर्नेगरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक प्रतिष्ठान, संघ–संस्था वा व्यक्तिगत कुनै पनि प्रकारका उपहार वा विशेष सुविधा लिनुहुँदैन । पेसागत मर्यादा, व्यावसायिकता र दायित्वमा प्रतिकूल प्रभाव पर्नेगरी कुनै प्रकारका पुरस्कार वा सम्मान ग्रहण गर्नुहुँदैन । राज्यका सबै अंग र निकायमाथि मिडियाले निगरानी गर्छ, प्रश्न गर्छ । मिडिया आफैँमा पावरफुल एजेन्सी हो । शक्ति र सत्तामाथि निगरानी गर्ने तथा वाचडगको भूमिकामा रहने स्वयम् मिडियाको भूमिकामाथि बहसको थालनी किन नगर्ने ? राज्यका अन्य निकायझैँ मिडियालाई पनि जनउत्तरदायी किन नबनाउने ? त्यसपहिले पत्रकार उत्तरदायी बन्नुपर्छ ।
वासिङ्टन पोस्टका पूर्वप्रकाशक फिल ग्राहमले भनेका थिए, ‘पत्रकारिता इतिहासको पहिलो रफ ड्राफ्ट हो ।’ हरेक लेखक र पत्रकारले कलम चलाउनुअगाडि सयौँ चोटी सोच्न जरुरी छ कि, म फगत समाचार लेखिरहेको छैन, इतिहास लेखिरहेको छु । भावी पुस्तालाई मिथ्या इतिहास घोकाउने अपराधकर्म पत्रकारबाट हुनुहुँदैन । पत्रकारिताको विकृत रूपप्रति सबैको चासो र चिन्ता छ । अधिवक्ता ताराप्रसाद ओलीले भनेका छन्, अब हरेक पत्रकारले आफ्नो कर्म र भूमिकाको समीक्षा गर्नुपर्छ ।
समग्रमा भन्ने हो भने दबाब र प्रभावबाट पत्रकार मुक्त हुन सक्नुप¥यो । बेलायती नाटककार टोम स्टोपार्डले भनेका छन्, ‘म अझै विश्वस्त छु कि, यदि तपाइँको चाहना संसार परिवर्तन गर्ने छ भने सबैभन्दा छिटो हतियार पत्रकारिता हो । तर, यसका लागि उत्तरदायित्व, इमान्दारी, नैतिकता, शुद्धता, सन्तुलन, विश्वसनीयता, शिष्टता, स्वच्छताजस्ता पत्रकारिताको सिद्धान्त र पत्रकार आचारसंहितालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ । गलत गर्नेलाई दण्डित गर्नुपर्छ । पेसाको गरिमा, मर्यादा उच्च राख्न सबैले आफ्ना कमजोरी महसुस गरेर अब सच्चिने संकल्पसहित अघि बढ्नुपर्छ । महात्मा गान्धीले भनेका छन्, ‘पत्रकार र पत्रकारिताको धर्म भनेको निःशस्त्र रहेर समाजमा सुशासन र शान्ति कायम गर्नु हो ।’
अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको प्रसिद्ध भनाइ छ, ‘नागरिकलाई साँचो कुरा जान्न देऊ, तबमात्र राज्य सुरक्षित हुन्छ ।’ नागरिकलाई सही सूचना दिने दायित्व पत्रकारकै हो । जब पत्रकारिता शक्तिको इसारामा चल्छ, राजनीतिक निकटताका आधारमा परिचालित हुन्छ, सनसनीपूर्ण समाचारको सहारा लिन खोज्छ, तब नागरिकको सुसूचित हुने अधिकार हनन हुन्छ । पत्रकार रहोस्–नरहोस्, उसको जागिर रहोस् नरहोस् नागरिकको सुसूचित हुने अधिकारको ग्यारेन्टी गर्ने कर्म र धर्मबाट पत्रकार कहिल्यै च्युत हुनुहुन्न ।
थभपचबवनष्चष्२नmबष्।िअयm
(गिरी–नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष हुन् ।)


प्रतिकृया दिनुहोस