सहुलियतमा इन्डक्सन चुल्हो
इलाम– वातावरण संरक्षण, स्वच्छ ऊर्जा प्रवद्र्धन तथा घरभित्र हुने धुवाँजन्य प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित इलाम नगरपालिका–१ साँखेजुङमा विद्युतीय चुल्हो (इन्डक्सन) सहुलियतमा प्रदान गरिएको छ । वडा कार्यालयमा आयोजित एक कार्यक्रमबीच वडाका १ सय ७२ परिवारलाई इन्डक्सन (बिद्युतीय) चुल्हो वितरण गरिएको हो । खानेपानी योजना बाताबरण एवं मुहान संरक्षण, महिला सशक्तिकरण, सामूहिक कृषि खेती, बिपद ब्यबस्थापनसंगै वैकल्पिक ऊर्जाको क्षेत्रमा काम गर्दै आएको प्रकृति रिसोर्सेस, सहयात्रा नेपाल र इलाम नगरपालिकाको साझेदारीमा सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत पहिलो चरणमा ९५ र दोस्रो चरणमा ७७ गरी कुल १ सय ७२ परिवारलाई इन्डक्सन चुल्हो उपलब्ध गराइएको छ । भान्सामा धेरै समय बिताउने महिलाहरू धुवाँको प्रत्यक्ष असरबाट प्रभावित हुने भएकाले उनीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै कार्यक्रम अघि बढाइएको सहयात्रा नेपालकी अध्यक्ष हेमकुमारी शिवाले बताउनुभयो ।
अपाङ्गता भएका व्यक्ति, दलित समुदाय र एकल महिलालाई पहिलो प्राथमिकतामा राखेर वडाले लाभग्राही छनोट गरेको हो । यस नगरपालिकाको वडा नम्बर १ लाई स्वच्छ ऊर्जा प्रयोग गर्ने नमुना वडा बनाउने मुख्य उद्येश्य अनुरुप प्रत्येक घरधुरीमा इन्डक्सन चुल्हो पु¥याउने योजना रहेको नगरपालिकाको भनाई छ ।
कार्यक्रमअन्तर्गत प्रत्येक परिवारले ४० प्रतिशत लागत साझेदारी गर्दै ४ हजार ५ सय रुपैयाँमा १० हजार ७ सय रुपैयाँ बरावरको इन्डकस्नसहितका सामाग्री प्राप्त गरेका हुन् । लाभग्राहीले २ हजारवाट क्षमताको इन्डक्सन चुल्हो, ३ लिटरको प्रेसर कुकर, एक थान कराही र एक थान दिउरे प्राप्त गरेका छन् । कार्यक्रम सञ्चालनका लागि इलाम नगरपालिकाबाट ३ लाख ५० हजार रुपैयाँ, सहयात्रा नेपालबाट २ लाख रुपैयाँ तथा उपभोक्ताको लागत साझेदारी सहित करिब ८ लाख रुपैयाँ बजेट परिचालन गरिएको हो । स्थानीय बासिन्दाले इन्डक्सन चुल्हो प्राप्त गरेपछि खाना पकाउन सहज हुने, धुवाँको समस्या हट्ने र समयसमेत बचत हुने बताए । वडा अध्यक्ष गायत्रीराम बस्नेतले सहयात्रा नेपालसँगको सहकार्यमा खानेपानी, वातावरण संरक्षण तथा समुदाय विकाससँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिनुभयो । स्थानीय तह, गैरसरकारी संस्था र समुदायबीचको सहकार्यमा सञ्चालन गरिएको यो कार्यक्रमले साँखेजुङलाई धुवाँरहित भान्सातर्फ उन्मुख गराउँदै वातावरण संरक्षण र जनस्वास्थ्य सुधारको अभियानलाई थप बलियो बनाउने अपेक्षा छ ।



प्रतिकृया दिनुहोस